काठमाडौं, फागुन ३ – काभ्रेपलाञ्चोक सिमथली-५ कि विनिता बास्कोटाले गएको माघ २८ गते काभ्रेकै विष्णु भण्डारीसँग प्रेम विवाह गरिन् । आफ्नै मनले खाएको व्यक्तिसँग विवाह गरेर जीवनभर सँगै बस्ने चाहना भएपनि तीन दिनमै श्रीमान् चोरी अभियोगमा थुनिएपछि विनिताले हनिमुन पनि राम्रोसँग मनाउन पाइनन् ।
मोटरसाइकल चोरेको अभियोगमा फागुन १ गते विष्णु पक्राउ परेर धुलिखेलमा थुनिए । विष्णुलाई छुटाउन दुई लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने वकिलले बताएपछि उनी त्यसको जोहो गर्न लागिन् । सामान्य जागिर गर्दै आएकी विनितासँग त्यति ठूलो रकम हुने कुरै थिएन, परिवारसँग मागौं भने उनीहरुकै इच्छाविपरीत भर्खर विवाह भएको छ । त्यसपछि उनले देवर नाता पर्ने भीमसेन भण्डारीसँग मिलेर कुनै बच्चाको अपहरण गरेर परिवारसँग पाँच लाख फिरौती लिने योजना बनाइन् ।
विनिता र भीमसेनले कुन बच्चालाई अपहरण गर्ने भन्नेबारे योजना बनाउन थाले । त्यसका लागि उनीहरु इटहरीसम्म पुगेको अनुसन्धानबाट खुलेको बताउनुहुन्छ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारी । कम उमेरकालाई अपहरण गरे रुने कराउने भएकाले फुलाउन नसकिने ठूलालाई अपहरण गरे नियन्त्रणमा लिन नसकिने निष्कर्षसहित उनीहरु ठिक्क उमेर र चिनजानकै बच्चालाई अपहरण गर्ने निचोडमा पुगे ।
फुलाउन सकिने, भनेको मान्ने बालिकाको सूचीमा परिन आफ्नै साहुकी ८ वर्षे कान्छी छोरी सम्झना पाण्डे । ललितपुरको च्यासलमा सम्झनाका बुबा बलराम पाण्डेले सञ्चालन गरेको कोल्ड स्टोरमा विनिता १४ महिनादेखि काम गर्दै आएकी थिइन् । आफ्नै स्टाफ भएकाले विनितालाई आफूहरुले परिवारको सदस्य जस्तै मान्ने गरेको बलराम बताउनुनुन्छ । भित्री मनसाय अर्कै बनाइसकेकी विनिताले चैत १ गते बेलुका ६ बजेतिर सम्झनाकी दिदी र दाईलाईसमेत बोलाएर लुकामारी खेल्न थालिन् ।
खेल्दाखेल्दै दाइ र दिदीलाई लुक्न लगाई सम्झनालाई हिँडाएर उनले बालकुमारी पुलसम्म भीमसेनलाई भेट्न जाँउ भन्दै लगिन । भीमसेनलाई सम्झनाको जिम्मा लगाएर विनिता फेरि खेल्दै गरेको ठाउँमा पुगेको अनुसन्धानबाट खुलेको एसएसपी अधिकारीको भनाई छ । भीमसेनलाई चिनेको हुँदा खुशी साथ सम्झना बस चढेर उसले भनेको ठाउँ महाराजगञ्जको गेष्ट हाउससम्म पुगिन ।
भीमसेनले उनलाई त्यो रात त्यही राखेर भोलिपल्ट चैत २ गते गोपीकृष्ण हलमा ल्याएर दिउँसो र साँझको फिल्म हेराए । फिल्म हेरेपछि विनिता दिदीलाई भेट्न जाउँ भन्दै भीमसेनले चाबहिलको पूर्वेली गेष्ट हाउसमा सम्झनालाई ल्याए र त्यही गेष्ट आउसको ३०२ नम्बरको कोठामा तीनै जना त्यही रात बिताउने तयारी गरे । तर, अनुसन्धानको घेरामा परिसकेका विनिता र भीमसेनलाई राति ८ बजे प्रहरीले पक्र्यो । अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा मंगलबार उनीहरुलाई जिल्ला अदालत ललिपुरमा हाजिर गराइएको छ ।
ड्रिम्स र फूलैफूलको मौसम तिमीलाई भन्ने फिल्म देखाए
गोपीकृष्ण हलमा ल्याएर भीमसेनले बालिकालाई ड्रिम्स र फूलैफूलकौ मौसम तिमीलाई भन्ने दुई वटा फिल्म देखाएको खुलेको छ । ललितपुर प्रहरी परिसरमा बुबासँगै आएकी सम्झनाले उज्यालो अनलाइनसँग आफूलाई ड्रिम्स र फूलैफूलको मौसम भन्ने फिल्म देखाएको बताइन् ।
तिमीले स्कुल जान्छु भनिनौं भन्ने प्रश्नमा सम्झनाले निन्याउरो अनुहार पार्दै भनिन्, ‘भने नि तर, उनीहरुले दुई दिन स्कुल बिदा छ भने ।’
source :ujyalo online
0 on: "बिहेको तीन दिनमै थुनिएका श्रीमान छुटाउन अपहरणमा लाग्दा आफैं फन्दामा"